सामूहिक विवादको समाधान

  • श्रम ऐन २०७४ को दफा ११६ बमोजिम दश वा सो भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा सामूहिक सौदाबाजी समिति(प्रतिष्ठानको निर्वाचित आधिकारिक ट्रेड युनियनको तर्फबाट तोकिएको वार्ता प्रतिनिधिहरुको समूह) रहनेछ र सो सामूहिक सौदाबाजी समितिले श्रमिकहरुको हित सम्बन्धी विषयमा रोजगारदाता समक्ष लिखित रुपमा सामूहिक माग दाबी पेश गर्न सक्नेछ।
  • श्रम ऐन २०७४ को दफा ११६ बमोजिम सामूहिक माग दाबी पेश भएमा सम्बन्धित रोजगारदाताले माग दाबी पेश गरिएको सात दिनभित्र सामूहिक सौदाबाजी समितिलाइ वार्ता हुने स्थान र समय उल्लेख गरी लिखित सूचना दिनु पर्नेछ। दिइएको सूचनामा उल्लिखित स्थान र समयमा वार्ता गर्न सामूहिक सौदाबाजी समितिका सदस्यहरु उपस्थित भइ वार्ता गर्दा दुवै पक्ष बीच सहमति वा सम्झौता भएमा सामूहिक मागदाबी सम्बन्धी विवाद समाधान हुनेछ।
  • श्रम ऐन २०७४ को दफा ११७ को उपदफा १ बमोजिमको अवधिभित्र रोजगारदाताले सामूहिक सौदाबाजी समितिलाइ वार्ता गर्न सूचना नदिएमा वा दफा ११७ को उपदफा ३ बमोजिम वार्ता गर्दा माग पेश भएको एक्काइस दिनभित्र सहमति हुन नसकेमा उक्त प्रतिष्ठान रहेको क्षेत्रको श्रम तथा रोजगार कार्यालय समक्ष निवेदन दिन सक्नेछ।